देउराली सहकारीद्वारा ७ अर्ब ठगी, अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ

काठमाडौं । सर्वसाधारणको करोडौं रुपियाँ निक्षेप हिनामिना गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले चौलागाईंलाई मंगलबार साँझ लाजिम्पाटबाट पक्राउ गरेको हो।

ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारीले सर्वसाधारणलाई ठगी गरेको भन्दै अनुसन्धान गर्न सहकारी विभागले सीबीआईलाई गत असारमा पत्राचार गरेको थियो।

निक्षेपकर्ताबाट पनि उजुरी परेपछि चौलागाईलाई सीबीआईले खोजी गरिरहेको थियो। लामो समयदेखि फरारका चौलागाईलाई विशेष सुराकीका आधारमा मंगलबार पक्राउ गरिएको सीबीआई प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन।

स्रोतका अनुसार कांग्रेस नेता गणेश लामालाई भेट्न लाजिम्पाट पुगेका बेला उनलाई सीबीआईको टोलीले पक्राउ गरेको थियो। चौलागाईंले सीबीआईलाई दिएको प्रारम्भिक बयानमा आफूले ४० करोड रुपियाँ जति तिर्न बाँकी रहेको बताएका छन्। तर, उनी ७ अर्ब रुपियाँभन्दा बढीको आर्थिक अपचलनमा मुछिएको स्रोतको भनाइ छ।

चौलागाईंको समूहले देउराली सहकारीको पाँच वर्षसम्म लेखापरीक्षण र साधारण सभासमेत नगरी सर्वसाधारणबाट ३ अर्बभन्दा बढी रकम संकलन गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको स्रोतले जनाएको छ।

सर्वसाधारणसँग उठाएको रकमले निजी जग्गा खरिद गरेको र त्यसबाट करिब ४ अर्ब रुपियाँ ऋण लिएर अपचलन गरेको आरोपसमेत चौलागाईंमाथि रहेको छ।

राजनीतिक शक्ति केन्द्रसँगको सम्बन्धका कारण अनुसन्धानबाट जोगिँदै आएका उनलाई ललितपुर जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ।

काभ्रेको कात्तिके देउरालीका चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए। सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्युरोड र भक्तपुरको सूर्यविनायकमा पनि सेवा केन्द्र खोलेर २० हजार जनाभन्दा बढी व्यक्तिबाट रकम संकलन गर्दै आएका थिए।

राजनीतिक संरक्षणको आडमा सर्वसाधारण निक्षेपकर्तालाई धम्क्याउने, जग्गा दिन्छु भन्दै लोभ्याउने गर्दै आएका चौलागाई समातिएपछि सर्वसाधारणको रकम अपचलन गर्दै आएको ललितपुरको समेरु बहुउद्देश्यीय सहकारी र काठमाडौं न्युरोडको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूलाई पनि पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको छ।

समेरु सहकारीका सञ्चालक भरत महर्जन विदेशतिर भागेको सूचना प्रहरीमा छ। यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।