बझाङमा भूकम्पको क्षतिबारे नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं।बझाङमा गएको भूकम्पबाट भएको क्षति विवरण तथा राहत उद्दार व्यवस्थापनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएकाे छ। 

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे नेताहरुले बझाङमा भूकम्प क्षतिबारे प्रधानमन्त्री प्रचण्डलाई बिफ्रिङ पनि गरेका हुन्।

बझाङका सांसद भानुभक्त जोशी, अछाम १ का सांसद शेखरबहादुर कुँवर र कांग्रेस नेता नैनसिंह महरको टोलीले प्रधानमन्त्रीलाई बझाङमा भूकम्पपछिको अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष अवलोकन गरि राहत, उद्दार र पुनर्निर्माणमा कुनै कसर बाँकि नराख्ने वचन दिएको नेता महरले बताए। मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ।

भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ। टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो।

बझाङमा १८ जना अछाममा पाँच जना,बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ। प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ। ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ।