इजरायलमा ज्यान गुमाएकामध्ये ५ जनाको शव दूतावासलाई हस्तान्तरण

काठमाडौं। इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० जनामध्ये नेपालले पाँचवटा शव पाएको छ। बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार नारायणप्रसा न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ।

प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ।

दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिइएको छ।

दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन्। अर्का एकजना दूतावासको हेरचाहमा छन्।

दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ। असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।