त्रिकोणात्मक टी-२० शृङ्खला: यूएईले हङ्कङलाई ६ विकेटले हरायो

काठमाडौं। त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आजको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ। जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो।

 जारी शृंखलामा नेपालले भने लगातार तेस्रो जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ। नेपालले शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा हङ्कङलाई ७९ रनले हराएको थियो। त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो।

यसैगरी आयोजक नेपालले आफ्नो दोस्रो खेलमा हङ्कङलाई ६ विकेटले हराएको थियो। निकट भविष्यमा आयोजना हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृङ्खला खेलिएको हो।