मुगुमा आमासहित तीन छोराछोरीको हत्या

काठमाडौं। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्।

उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ।  

  फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको बताएका हुन् ।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो। थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए।

 ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ। ९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत तिर गएका होलान् सोचेका रहेछन्, थापाले भने, आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे।

स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए। तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए। भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए। कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ।