टी-२० सिरिजको उपाधि भिडन्तमा युएईसँग नेपाल पराजित

काठमाडौं । युएईले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ। जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए।

युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए। युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६।४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो। पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए। दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो।

तेस्रो बलमा एक दिँदा लगत्तै वाइड फ्याँले। चौथो बलमा आयनले एक रन बटुले। दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए।

त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए। करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए।

ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए। ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए।

युएईले पहिलो ओभरमा १७ रन जोड्दै ड्रिम सुरुवात गरेको थियो। तीव्र गतिका बलर सोमपाल कामीले पहिलो बल गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो। त्यसपछि मोहम्मद वासिमले छक्का र दुई लगातार चौका हान्दै राम्रो सुरुवात दिलाएका थिए।

वासिमलाई तीव्र गतिका बलर गुलशन झाले सातौं ओभरको चौथो बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो पहिलो सफलता दिलाएका थिए। अर्का ओपनर अर्यांश शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए। उनी कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए ।

आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए। एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए। उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए।

१६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए। उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए। आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे।

तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन्। १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए।

रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए। तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए। दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे। इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए।

जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए। आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे।

तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे। अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए। अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन।

युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए। जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो।

अव सोमबार देखी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट सुरु हुनेछ। समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। समूह बी मा हङकङ, युएई, बहराइन र कवेत छन्। फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।