मुगु घटनामा शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं। मुगुमा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ।अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो। अहिलेसम्म घटनाको विषयमा कुनै क्लू भने पत्ता नलागेको उनले बताए।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोली खटिएको छ। कुकुरले पनि कुनै संकेत दिन नसकेको प्रहरीले जनाएको छ।

अनुसन्धानलाई सघाउन आइतबार कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकाल पनि मुगु पुगेका छन्।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।

शनिबार शव जिल्ला अस्पतालमा लगिए पनि ‍पोष्टमर्टम भने हुन सकेको छैन। परिवारले घटनाको सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेको छ।