टी—२० विश्वकप छनोट क्रिकेट: सिंगापुरविरुद्ध नेपालले अहिले बलिङ गर्दै

काठमाडौं। सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आठवटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्।

छनोट प्रतियोगिता खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदैछ।

मुलपानी क्रिकेट मैदानमा खेलाइने अर्को खेलमा बहराइनले पहिले ब्याटिङ गर्ने भएको छ।

उक्त खेलमा यूएईले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो। नेपाल र सिंगापुर तथा यूएई र बहराइनबिचको खेल नेपाली समय अनुसार, बिहान ९ बजे सुरु हुँदैछ।