हराउँदै गयो परम्परा र संस्कृति,चाडबाडको नाममा फैलियो विकृति

उज्यालोको पर्व तिहार दैलोमा छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो महान् चाड तिहारले सुःख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ। तिहार हर्षोल्लासका साथ मनाइन्छ। तर, पछिल्लो समय चाडबाडको नाममा विकृति फैलिएको छ। तिहार आउनेबित्तिकै अधिकांशको दिमागमा जुवातास खेल्ने सोच आइहाल्छ । तिहारमा सबैभन्दा बढी जुवातास खेलिन्छ। त्यस्तै, देउसी भैलोंजस्तो परम्परामा समेत बेतिथि छिरेको छ।

पहिलेजसरी देउसी भैलो खेल्ने चलन हराएको छ । रातभरी स्पीकर बजाएर डिस्टर्ब गरिन्छ । देउसी भैलो भन्दै छाडा गीतहरु गाउने प्रवृत्ति मौलाएको छ। विभिन्न संघसंस्था वा व्यक्तिले देउसी भैलो खेलेर ठग्ने कार्य गर्दछन्। देउसी भैलो खेलेको पैसा सार्वजनिक काममा लगाउने बहाना बनाएर ठगिन्छ। पछिल्लो समय रकम तोकेरै देउसी भैलो खेलिन्छ। संस्कृति जोगाउनका लागि होइन्, पैसा कमाउनका लागि देउसी भैलो खेल्ने गरिएको छ।

देउसी भैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गर्ने, हो–हल्ला गर्ने कार्यले प्राथमिकता पाएको छ। नामचाँहि देउसी भैलो, गीतचाँहि हिन्दी र उच्छृङ्खल खालका बजाइन्छ। जसले गर्दा समाजले एक किसिमको नकारात्मकता फैलिएको छ। परम्परालाई संरक्षण गर्ने खालका गीत निकाल्न छाडिएको छ । जथाभावी गीत निकाल्ने, त्यसमा नाँचगान गर्ने, समाजमा बसेकालाई डिस्टर्ब गर्ने कार्य भइरहेको छ।

गाडी रिजर्भ गरेर देउसी भैलो खेल्न जाने चलन मौलाएको छ। देउसी भैलो खेल्न आउनुअगावै पैसा तोकेर चिठी पठाइन्छ। देउसी भैलो खेल्न आउनेलाई आफ्नो खुसीले पैसा दिने हो। तर, पछिल्लो समय मुख फोरेरै पैसा माग्न थालिएको छ। पहिले–पहिले यसलाई कात्तिकको दान भनिन्थ्यो। जति सकिन्छ, त्यति दिने प्रचलन थियो। अहिले यसमा पनि विकृति मौलायो।

गरिबको घरमा कोही देउसी भैलो खेल्न आउँदैनन्, धनी–धनी छानेर खेल्न गइन्छ। तिहार उज्यालोको पर्व हो । तर, लापरवाहीको कारणले गर्दा पर्वमै ठूलो जनधनको क्षति व्यहोर्नुपरेको घटना धेरै छन्। तिहारमा अधिकांशको घरमा झिलिमिली बत्ती बालिन्छ। बत्ती जडान गर्दा छतबाट खसेको घटना छन्। यता, लक्ष्मी पूजाको रातभर बत्ती बाल्नुपर्छ भन्ने मान्यता छ।

त्यसले नै कतिपयको ज्यान लिएको छ। बालेको दियो सल्किएर जनधनको क्षति भएको घटना यसअघि पनि घटेको थियो। करेन्ट सर्ट भएर आगो बलेका घटना पनि छन्। चाडबाड मनाउने नाममा ठूलो क्षति व्यहोर्नुपर्न सक्छ । यता, तिहार मान्नका लागि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकाहरु आफ्नो गाउँघर फर्किन्छन्। घर जाने यात्रुको चाप बढी भएपछि यातायात व्यवसायीले पनि मौकाको फाइदा उठाउँछन्।

तोकिएकोभन्दा बढी–बढी भाडा यात्रुसँग असुलिन्छ। यता, तिहारकै बेलामा अत्याधिक चोरीका घटना घट्ने गरेका छन्। सार्वजनिक यातायातदेखि लिएर घरको ताला फुटाएरसमेत चोरी हुन्छ। उपत्यका खाली हुनेबित्तिकै चोरहरुको बिगबिगी हुने गरेको छ। त्यस्तै, चाडबाडको मौका छोपेर व्यापारीहरुले कालोबजारी गर्छन्। ‘स्टक’ मा भएका सामानहरु लुकाएर बजारमा अभाव सिर्जना गरिन्छ।

तोकिएको मूल्यबाट दोब्बरमा सामान बेच्दा पनि सरकार टुलुटुलु रमिता हेरेर बस्छ। पहिलो कुरा त मँहगीले नै सर्वसाधारणको ढाड सेकिएको छ। अर्कोतिर, सरकारको गैरजिम्मेवारीपन। बजार अनुगमनमा सरोकारवाला निकायले अलिकति पनि चासो देखाएको छैन्। जसले गर्दा सर्वसाधारण थप मर्कामा परेका छन्। व्यापारीहरुले आफ्नो मनोमानी चलाएका छन्, सरकार निरीह छ।

मुलुकको सरकार नाम मात्रमा सीमित भएको छ। गृह मन्त्रालयले समाजमा हुन सक्ने घटनालाई रोक्न वा न्यूनिकरण गर्नका लागि अहिलेसम्म कुनै कदम चालेको छैन्। मन्त्रालयले सुरक्षामा कडाइ गर्न र समाजमा शान्ति कायम राख्नका लागि आवश्यक तयारी गरिराख्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छैन्। यता, उद्योग मन्त्रालयले बजार अनुगमनमा कडाइ गरेको छ।

उपभोक्ता व्यापारीबाट ठगिएको ठगियै छन्, सरकार हात बाँधेर बसेको छ। तिहारमा सबैभन्दा बढी मिठाई, भाइमसला, माला, फलफूललगायतका सामान चाहिन्छ। तर, ती सामानको भाउले आकाश छोएको छ। सामानको भाउ सुनेर उपभोक्ताको सातो जान्छ।

व्यापारीहरुले हरेक सामानको मूल्य ह्वात्तै बढाएका छन्। मँहगीको कारणले गर्दा नेपाली चाडबाड मनाउनै नसक्ने अवस्थामा पुगेका छन्।
चाडबाड नेपालीको शान हो । तर, अहिले अवस्था फेरिएको छ। चाडबाड मँहगिँदै गएको छ।

चाडबाड सबैको साझा हो। यद्यपि, पछिल्लो समय चाडबाड धनीका लागि मात्रै भएको छ । तिहारमा आवश्यक पर्ने भनेको दुईटा सामान मात्र हो। एउटा टिका अर्को माला । तर, केही समययता फजुल खर्च गर्ने क्रम बढेको छ । जसको मर्कामा आर्थिक अवस्था कमजोर भएकाहरु परेका छन्।

नेपाली समाजमा देखासिकी गर्ने चलन छ। एउटाले जे गर्यो, अर्कोलाई पनि त्यही गर्नुपर्छ। जसले गर्दा संस्कृति संकटमा परेको छ। पहिलेपहिले दक्षिणाको आश हुँदैन्थ्यो। अहिले त दिदीबहिनीले दाजुभाइले पैसा दिन सक्छन् कि सक्दैनन् ? हेर्छन्। आफ्नो सामानको पैसा उठाएर नाफा हुने भए मात्र टिका लगाउन जान्छन्। नत्र बहाना बनाउँछन्। यो प्रवृत्तिले गर्दा कमाइ नहुने दाजुभाइको निधार खाली रहने भयो।

अहिलेको हेरी पहिलेकै चलन ठीक थियो । दिदीबहिनीलाई पनि टिका मात्र किने पुग्थ्यो । सय थरीका सामान किनिरहनु त पर्दैन्थ्यो। तिहारको नाममा दिदीबहिनी र दाजुभाइबीच व्यापार चलेको छ । दिदीबहिनी सामान दिने र दाजुभाइले पैसा दिने।

एउटाले सामान बेचको र अर्कोले किनेकोझैं भएको छ। यसले गर्दा गरिबहरु मर्कामा परेका छन्। आर्थिक अवस्था कमजोर भएकाले त टिका लगाउनै नसक्ने अवस्था भएको छ।

अरु दिदीबहिनीले सामान लैजाँदा आफू रित्तो हात जाने कुरा रहँदैन्। त्यसैले उनीहरु बरु विभिन्न बहाना बनाउँछन्, टिका लगाउनै जाँदैनन्। कतिपयले त ऋणधन गरेर पनि सामानको जोहो गरिरहेका हुन्छन्।

संस्कृतिलाई होइन्, देखासिकीलाई प्राथमिकता दिइएको छ। यता, चाडबाड संरक्षण गर्नुपर्छ भनेर सिकाउने कोही भएनन्। संस्कृति जगेर्ना गर्न कलाकारहरुको पनि कुनै भूमिका रहेन्।

कलाकारलाई मुलुकको गहना भनिन्छ। तर, उनीहरुकै कारणले समाजमा विकृति फैलिएको छ। देखासिकी गर्न सिकाउने कलाकार नै हुन्। संस्कृति भाड्ने गीत गाउने र नाँच्ने पनि तिनै कलाकार हुन्। संस्कृति जोगाउन कलाकारहरुले केही पनि गरेनन्। चाडबाडमा कहिले पनि नाफा र घाटा हेर्नुहुँदैन्। पैसा कमाउनका लागि चाडबाड मनाउने होइन् भन्ने कुरा नेपालीले बुझनुपर्छ।

आफ्नो आयस्रोतअनुसार चाडबाड मनाउने हो। अरुले घोडा चढ्यो भन्दैमा धुरी चढ्न खोज्नु राम्रो होइन्। वडा, गाउँपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन सरकार हो। हरेक जिल्लामा पालिका र प्रहरी छन्। तर, सरकार भएको अनुभूति किन सर्वसाधारणले गर्न सकिरहेका छैनन् ? सबै निकायले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्यो।

जहिले माथिल्लो तहको मुख ताकेर त भएन् नि। नागरिकको ज्यान र धनको सुरक्षा गर्नु सरकारको दायित्व हो। तर, सरकारले त्यो गर्न सकिरहेको छैन्। नागरिक पाइलैपिच्छे ठगिएका छन्, लुटिएका छन्।

अनि कहाँ छ सरकार ? यसका लागि सर्वसाधारण र सरकारबीच हातेमालो हुन जरुरी छ। सर्वसाधारणले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। गाउँघर जानुअघि स्थानीय निकायलाई खबर गर्ने, कालोबजारी गरेमा वा तोकिएकोभन्दा बढी मूल्य लिएमा उजुरी गरेमा अप्रिय घटना हुनुबाट जोगिन सकिन्छ।

तिहारभरि मदिरा बेच्न र राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाउनुपर्छ। देउसी भैलो खेल्ने नाममा कसैलाई पैसा दिन बाध्य बनाउन पाइँदैन्। पैसा नदिएमा जथाभावी गालीगलौज गर्नेलाई कारबाही गर्नुपर्छ। गच्छअनुसार पैसा दिने हो, देउसी भैलो खेल्ने नाममा लुट्नेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्छ।