टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी (हेर्नुहोस् विज्ञप्ति)

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो।

प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो।

प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्राधिकरणको निर्देश /आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्‍य हुने र सेवा प्रदायकले त्‍यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्‍चार ऐन, २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्‍ने व्‍यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति