सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

काठमाडौं।सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ।

मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनिश्चितकालका लागि रोक लगाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ।

सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ।

त्यसो हुँदा वचतकर्ताको वचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको मन्त्रालयले जनाएको छ।

‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/७/२३ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।