प्रहरीमा दर्ता हुने कुल मुद्दाको ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’

काठमाडौं। प्रहरीमा दर्ता हुने कुल अपराध मध्ये ३१ प्रतिशत अपराध ‘लैङ्गिक हिंसा’सँग सम्बन्धित हुने गरेका छन्। आर्थिक वर्ष २०७९–२०८० मा प्रहरीमा दर्ता भएका अपराधका घटनाहरु मध्ये ३१ प्रतिशत घटना लैङ्गिक हिंसासँग सम्बन्धित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’बारे गोष्ठी कार्यक्रममा एसपी रञ्जु सिग्देलले अधिकांश हिंसा चिनजानकाहरुबाटै हुने गरेको बताइन्। प्रहरीमा दर्ता भएका लैङ्गिक हिंसाका घटनामा ८८ प्रतिशत अभियुक्त चिनजानका नै रहेको पाइएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी कर्मचारी संलग्न हिंसाको नियमन गर्ने कार्यादेश सार्वजनिक गरेका छन्।

कार्यादेश सार्वजनिक गर्दै आईजीपी कुँवरले सो कार्यादेशले सकलदर्जालाई महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रति संवेदनशिल हुन मार्ग निर्देशन हुने बताए।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए।