सात वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। महोत्तरीमा एक छात्रालाई बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन्। बिहीबार दिउँसो विद्यालयमै सात वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो।

गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालक समेत हुन्।

टिफिनको समयमा चौथो तल्लाको छतमा लगेर प्रलोभन देखाएर उनले बालिकालाई बलात्कार गरेको जाहेरीको आधारमा साहलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिए।

उनका अनुसार अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको हो। साहलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।