लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

काठमाडौं। लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ। आर्थिक वर्ष २०७९/२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ।

यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ ।

परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई उत्तर पुस्तिका सार्न दिएका १, उत्तर पुस्तिका च्यातेका २ र मूल उत्तर पुस्तिकामा नभई थप उत्तर पुस्तिकामा मात्र उत्तर लेखेका १ जनालाई आयोगले कारबाही गरेको छ ।

त्यसै गरी दरखास्त फाराम नै नभरी लिखित परीक्षा दिएका १ जना पनि कारबाहीमा परेको छ।

त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ।

यसमा लोक सेवा आयोगले सबैभन्दा बढी अर्कोको उत्तर पुस्तिका सार्नेलाई तीन वर्षसम्म लोक सेवाले लिने कुनै पनि परीक्षामा भाग लिन नदिने कारबाही गरेको छ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ।