एनसेलको खरिद-बिक्री शंकास्पद, गहिरो अनुसन्धान गर्नुपर्छ: महामन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा सरकार र दलहरू कठोर बन्नुपर्ने बताएका छन्।

६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलमा अहिले भएको सेयर खरिद-बिक्री शंकास्पद रहेको शर्मा बताउँछन्।

‘एनसेलको खरिद-बिक्री शंकास्पद छ, यो अपार कर छलीको गहिरो अनुसन्धान जरूरी छ। अनियमितताविरूद्ध सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रूपले एकढिक्का उभिने संकेत सकारात्मक छ,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्न आग्रह पनि गरेका छन्।

‘अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं,’ उनले भने, ‘बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।