नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार ३० धरौटीमा छाड्न आदेश दिएका हुन्।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो। न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।

दुवै न्यायाधीशहरुविचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो। उच्च अदालतको यो आदेश विरुद्ध खाँणले सर्वोच्च अदालतमा निवेदन दिन पाउछन्।

उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो। २० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन्।