प्रचण्डको एक वर्षः जनता र राष्ट्रका निम्ति गरेनन् एउटा पनि काम, व्यक्तिगत स्वार्थमै बढी ध्यान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला उनले एक जना सरकारी कर्मचारीलाई हटाउन मन्त्रिपरिषद्बाट स्वीकृत गरेर राष्ट्रपति रामवरण यादव कहाँ पठाए । तर, राष्ट्रपति यादवले स्वीकृत नगरेपछि उनले बोल्दाबोल्दै राजीनामा दिए।

जबकी कसैले पनि उनको राजीनामा मागेको थिएनन् । प्रचण्डको निर्णयले सर्वसाधारणमाझ राम्रै छाप परेको थियो। पद ठूलो होइन् भन्ने उदाहरण दिएका थिए, उनले। तर, उनको उक्त कार्य सस्तो लोकप्रियता कमाउनका लागि मात्रै रहेछ भन्ने पुष्टि भइसकेको छ। प्रचण्ड देशको प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो।

जनता र राष्ट्रको हितमा उनले यो एक वर्षको अवधिमा एउटा पनि निर्णय गरेका छैनन्। अहिले मुलुकमा आर्थिक मन्दी छ । व्यापार–व्यवसाय ठप्प छ। सर्वसाधारण समस्यामा छन्। महाबौद्ध, इन्द्रचोकका व्यापारीहरु हिजो दिँउसो १२ बजेसम्म पनि बोनी नभएको गुनासो गर्दै थिए।

मालपोत र यातायात कार्यालयको अवस्था पनि त्यस्तै छ। चनमन्न छ। केही दिन उकालो लागेको शेयर हिजो फेरि स्वाटै ओरालो लाग्यो। बजारमा मँहगी ह्वात्तै बढेको छ। बेरोजगारको संख्या दिनहुँ उकालो लागिरहेको छ । यता, पेन्सन खाने भूपू कर्मचारीहरु सरकारले तलब खातामा नहालिदिएको बताउँछन्।

कतिपय स्थानीय तहका कर्मचारीहरु तलब नपाएपछि आन्दोलित भएका छन्। एक वर्षको अवधिमा विदेशी ऋण ह्वात्तै बढेको छ । हरेक क्षेत्रमा बेतिथि छ। राजश्व छली, भ्रष्टाचार रोक्न उनले सकेका छैनन्। यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । यातायात व्यवसायी भनिने ‘दलाल’ हरुले एकाधिकार जमाएर बसेका छन्।

तर, सरकार उनीहरुको एकाधिकार तोड्न असफल रह्यो। चार दशकदेखि कालो प्लेट र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । ढुवानी गाडी र फो–स्टक टेम्पोको दर्ता पनि बन्द छ । तर, सरकारले अहिलेसम्म नयाँ दर्ता खोल्ने निर्णय गर्न सकेको छैन् । छिमेकीले मिचेको नेपाल जमिन उनले फिर्ता ल्याउन सकेनन्।

भूमिगत गएका उनले पहिलोपटक वालुवाटारमा सार्वजनिक हुँदा मुलुकलाई १० हजारभन्दा धेरै सेना नचाहिने बताएका थिए । अहिले आफैं प्रधानमन्त्री छन्, तर आफ्नै बोली कार्यान्वयन गर्न सकेका छैनन्। भ्रष्टाचारका कारण मुलुकको अन्तर्राष्ट्रिय बद्नाम भएको छ । सरकारी कार्यालय घुस खाने अड्डा बढेको छ।

सडकमा उभिने ट्राफिक प्रहरीदेखि कार्यालयमा बस्ने सरकारी कर्मचारीहरुले खुलेआम घुस खाइरहेका छन् । खोइ त नियन्त्रण ? आम सर्वसाधारणले पाँच सय र हजार रुपैयाँको नोट घरमा लुकाएका छन्। बजारमा पैसाको अभाव छ । पाँच सय र हजारको नोट खारेज गरेर नयाँ निकाल्नुपर्छ भनि पटकपटक माग उठिसकेको छ।

तर, सरकारले त्यो पनि गर्न सकेको छैन्। लक्ष्यअनुरुप राजश्व उठेको छैन् । सरकारलाई आफ्नै खर्च धान्न हम्मेहम्मे परेको छ। जनताले तिरेको करले नधानेपछि सरकारले धमाधम विदेशी ऋण लिएको हो । सरकारी खर्च धान्न सक्ने क्षमता छैन् भने सरकारले विदेशी ऋणको किस्ता कहाँबाट ल्याएर तिर्छ ?

विदेशी ऋण मिनाहाका लागि उनले अहिलेसम्म कुनै प्रक्रिया चालेका छैनन्। देशमा खाने नै खाने मात्रै छन्। आम्दानीको स्रोत छैन्, खानेको चाँहि लहर छ। स्थानीय जनप्रतिनिधि पनि तलबभत्ता खान्छन्। सरकारले जनप्रतिनिधिहरुको तलबभत्ता कटौती गर्न अहिलेको अवस्थामा निकै नै जरुरी छ।

उनले यसमा विषयमा पनि कुनै एक्सन लिएका छैनन्। यता, भूपू सरकारी कर्मचारीको पेन्सन र ज्येष्ठ नागरिकको भत्ता कटौती गर्न पनि सरकार असक्षम छ। माफियाहरुले सरकारी, गुठी, मठमन्दिर, सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेका छन्। सरकार ती जग्गा फिर्ता ल्याउन असफल भएको छ।

मुलुकका ठूला उद्योगपति भनिएकाहरुलाई नै राज्यलाई लुटिरहेका छन् । राजश्व छलि गरेका छन् । सरकारले राजश्व छली गर्नेलाई कानुनको दायरामा ल्याउन सकेको छैन्। प्रधानमन्त्री प्रचण्डले ठूला कुरा मात्रै गर्ने रहेछन् र उनीसँग काम गर्ने क्षमता रहनेछ भन्ने अहिले प्रमाणित भएको छ।

राजश्व उठाउनका लागि उनले जग्गाको कित्ताकाट खोलियो । शेयरमा १२ करोडको सीमा हटाइयो, तैपनि कुनै प्रगति भएन् । मुलुकमा रोजगारीको अवसर नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको भीड छ। युवायुवतीहरु धमाधम पलायन गइरहेका छन् । घरेलु कामदार बनेर खाडी गएका महिलाहरुको श्रमसँगै यौन शोषण भइरहेको छ।

महिलाहरु गर्भवती भएर नेपाल फर्किरहेका छन् । सरकारले रोजगारी दिन नसकेपछि घर परिवार पाल्न गएका महिलाहरुको जिन्दगी तहसनहस बनेको छ। हालसालै मात्र एउटा एकदमै पीडादायी घटना घट्यो । कुबेतबाट आएकी एक युवतीले विमानमै बच्चा पाएर कमोडभित्र फ्याँलिन्।

बच्चाको ज्यान गयो, ती महिलाको भविष्य पनि अन्धकार भयो । सडकमा माग्नेको संख्या ह्वात्तै बढेको छ। बच्चा, बुढाबुढीदेखि लिएर सुत्केरीसम्म माग्न बसेका छन्। उता, बैंक तथा वित्तिय संस्थाका कारण करोडौंको उठीबास लाग्ने भएको छ। सहकारीले पैसा खाइदिएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ।

तीन खम्बे अर्थनीति बोकेको सहकारीले डुबाउनु डुबायो । सहकारी र लघुवित्तबाट पीडित भएकाहरु पाइलैपिच्छे भेटिन्छन्। उनीहरु निकै समस्यामा छन्। तर, सरकारलाई मतलब छैन्। देश सकाउनमा प्रचण्डको मात्र हात छैन् तर उनले सुधारका लागि प्रयास नै गरेको देखिँदैन्।

देश तहसनहस बनाउनमा भूपू राजा, भूपू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुको सराबरी योगदान छ। सबै राज्यको ढुकुटी लुट्ने मात्रै भए। सरकारी कर्मचारी ‘कामचोर’ छन्। महालेखा परीक्षकको कार्यालयले आम्दानीभन्दा खर्च भयो भनेर सार्वजनिक गरिसकेको छ।

यस्तो पाराले देश कसरी चल्छ ? अब प्रधानमन्त्री प्रचण्डसँग दुईटा उपाय छ । कि धमाधम एक्सनमा जाने कि नैतिकताको आधारमा राजीनामा दिने । पहिले एउटा मन्त्रिपरिषद्को निर्णय स्वीकृत नहुँदा राजीनामा दिए, अहिले देश नाजुक अवस्थामा पुगिसक्यो अझै पदको लोभ गरेर बस्ने?

पद त्यति नै प्यारो छ भने काम गर्नुपर्यो । २०६५ सालमा राष्ट्रपतिबाट शपथ लिने बेलामा उनले कोट प्यान्ट लगाएका थिए । तेस्रो पटक प्रधानमन्त्रीको शपथ खाँदा उनले दौरा सुरुवालमा शपथ खाए । यसले पनि उनी अन्य राजनीतिक दलकै बाटो हिँडेको पुष्टि भइसकेको थियो।

हुन त यहाँ देशको माया कसलाई छ र ? सबै सकाउनमा सबै जिम्मेवार छन् । एमाले भन्छः देश बर्बाद भयो । उसको बर्बादको कारण सर्वसाधारणले राम्रोसँग बुझेका छन् । सत्तामा जान नपाएपछि एमाले पानी नपाएको माछाझैं छट्पटाइरहेको छ । एमालेको नौटंकी कसले बुझ्दैन् र ?

सबै पार्टी ‘एउटै ढ्याङ्गका मुला’ हुन् । जनयुद्धको बेला माओवादीमा लागेकाहरु उपचार नपाएर तड्पिरहेका छन्। मुलुकको राजनीति परिवर्तन गर्न प्रचण्डले नेतृत्वले गरे होलान् तर गोली खाने त अरु छन्। अंगभंग भएर बाँचेका छन्। प्रचण्डले उनीहरुलाई बिर्सिए। प्रचण्डले के गुमाएका छन् ?

जति गुमाउनु थियो जनताले गुमाए। कतिपय आमाबुवाको काख रित्तियो, कतिपयको सिन्दुर पुछियो । हालै मात्र प्रचण्डले गोकर्ण रिसोर्टमा आफ्नी नातिनीको विवाह गरे। करोडौं रुपैयाँ खर्च गरेर तामझामका साथ विवाह भयो । त्यतिबेला जनयुद्धका घाइतेहरुको कति मुटु पोल्यो होला ?

उनको लागि खुसीको मौका थियो होला तर घाइतेहरुको आँखामा आँशु टिल्पिलाएको थियो। यस्तो व्यक्तिलाई जनताको अभिभावक भन्न सुहाउँछ ? २०६४ चैत २८ गते भएको चुनावमा माओवादीले १२१ क्षेत्रबाट प्रत्यक्ष जित्यो। थोरै भोटले धेरै क्षेत्रमा हार्यो । त्यतिबेला काम गरेनन्, राजाझैं टाउको हल्लाउँदै हिँडे।

त्यसपछि उनलाई जनताले पत्याएनन्। कहिले कांग्रेस त कहिले एमालेसँग टाँसिन्छन्। सबैभन्दा ठूलो समय हो, उनले त्यो बुझेनन् । मौका पाउँदा काम गरेको भए माओवादी अहिलेपनि पहिलो पार्टी हुन्थ्यो।