काठमाडौंः फोहोर, दुर्गन्ध र प्रदूषणको शहर,सर्वसाधारणलाई श्वास फेर्नसमेत सकस

फाइल तस्वीर

बालबालिकाको पहिलो विद्यालय घर हो। अभिभावक उनीहरुको गुरु। पहिले पहिले अभिभावकले बालबालिकालाई ठाडो शिर पारेर हिँड्न सिकाउँथे। मुख छोप्नुहुन्न भनेर सिकाउने गरिन्थ्यो। जसले गल्ती गर्छ,उसले शिर निहुँराउछ भनिन्थ्यो। गल्ती गरेपछि लाजले मुख छोप्छन् भन्ने चलन थियो।

एक ठाउँमा गरेको गल्ती लुकाउनका लागि अर्को ठाउँमा बसाइसराई गरिन्छ भन्ने गरिन्थ्यो। तर, अहिले ठ्याक्कै उल्टो भो। मुख नछोपीकन कोही हिँड्नै सक्दैनन्। बढ्दो प्रदुषणका कारण मुखमा मास्क लगाउनैपर्ने बाध्यता छ। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, पसले, सरकारी कर्मचारी, पैदलयात्री, भक्तजन सबैको मुख मास्कले छोपिएको हुन्छ।

ड्युटीमा बसेका ट्राफिक प्रहरीहरुले पनि मास्क लगाएकै हुन्छन्। सदनभित्र समेत सांसदहरु मास्क लगाएर बसेका हुन्छन्। धुँवा धुँलो र सरुवा रोगबाट बच्ने उत्तम उपाय नै मास्क हो। कसैलाई सोध्यो भने भन्छन्,‘अहिले पनि कोरोना हटिसकेको छैन् । अर्कोतिर प्रदुषणले गर्दा श्वास फेर्न गाह्रो हुन्छ । त्यसैले मास्क लगाउनैपर्ने बाध्यता छ ।

अचेल त भखरै जन्मेको शिशुलाई समेत मुखमा मास्क लगाएर बोकेर हिँड्ने गरिएको छ । शिक्षकहरुले विद्यार्थीलाई मास्क लगाएरै पढाइरहेका हुन्छन्। यस्तो हुनुको कारण के त ? आम नागरिक स्वच्छ हावा लिनबाट समेत वञ्चित भए, किन ? सरकारको लाचारिताको कारणले आम नागरिक मुख छोपेर हिँड्न बाध्य भएका छन्।

प्रदूषणको प्रमुख कारण हो ईट्टाभट्टा। ईट्टाभट्टाले एकदमै धेरै वायु प्रदूषण गरेको छ। ईट्टा पोल्दा निस्किने धुँवाले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ। त्यस्तै, अर्को कारण हो थोत्रा, पुराना सवारी साधन। कालो धुँवाको मुस्लो उडाएर गाडी गुडिरहेको हुन्छ। तर, त्यस्ता गाडीलाई कारबाही भएको छैन्।

कोरोनाका कारणले नेपाल दुई पटक लकडाउन भइसकेको छ। सरकारले २०७६ चैत ११ र २०७८ वैशाख १६ गते लकडाउन गर्यो। त्यतिबेला पनि सर्वसाधारणले तरकारी बजार, पार्टी प्यालेसहरु जाँदा मास्क लगाउँदैनथें। अहिले त मास्क लगाउनुपर्ने बाध्यता नै भयो। कालीमाटी तरकारी बजारमा हरेकले मास्क लगाइरहेको देखिन्छ। 

यता, चियापसल, होटल, रेष्टुरेण्टहरुमा पनि मास्क नै लगाएर पुग्छन् । खाने बेलामा आधा मास्क तल झार्ने, फेरि पूरै मास्क लगाउने । यो कुराले अहिलेपनि कोरोना छ भन्ने कुरा प्रमाणित हुन्छ । भारतमा पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएको छ । सरकारले कोरोना परीक्षणको शुल्क लिन्छ।

त्यसैले पनि कोही कोरोना चेक गर्न गएका छैनन् । काठमाडौंमा बढेको प्रदूषणले विभिन्न रोग निम्त्याएको छ। जीउ चिलाउने, आँखा पोल्ने हुन्छ। सरकारले सँधैभरि आम सर्वसाधारण मुख छोपेरै हिँड्नुपर्ने बनाउने हो कि खुल्ला हिँड्न पाउने जनताको अधिकार सुरक्षित गर्ने हो।
गल्ती नगरिकन मुख छोपेर हिँड्नुपर्ने अवस्था आएको छ। यसको दोषी सरकार हो। सरकारको वातावरण मन्त्रालय पनि छ, वातावरण विभाग पनि छ। यी निकायको काम के ? धुवाधुलो फैलाउने सवारीको अनुगमन गर्नु, ईट्टाभट्टाहरु अन्यत्र सार्नु, वातावरणलाई स्वच्छ र सफा बनाउने क्रियाकलापहरु गर्नु यी निकायको काम हो।

कर्मचारी छन् तर केही काम भएको छैन्। खोलानाला सबै फोहोर भएका छन् । काठमाडौं उपत्यकाको त कुरै नगर्दा हुन्छ, उपत्यका बाहिरको पनि त्यस्तै प्रदूषित बनेको छ। जनसंख्या बढेको छ, जसले गर्दा प्राकृतिक स्रोतहरु मासिँदै, दूषित हुँदै गएको छ । प्रकृतिको संख्या, खोलानाला जगेर्नाका लागि सरकारसँग कुनै योजना नै छैन्।

उपत्यकामा हरियाली देखिन छाडिसकेको छ। रुख हेर्न पर्यो भने गाउँ नै जानुपर्छ। सडकको छेउछाउ ससाना विरुवा रोपिएको छ। त्यसको पनि संरक्षण छैन्। हेरचाह नहुँदा विरुवाहरु मरिसकेका छन्, भएका पनि कहिले ठूला हुन्छन्, हुँदैनन् ? मानव श्वासप्रश्वासका निम्ति रुख विरुवाको एकदमै धेरै महत्व छ।

वनजंगल फडानी गरिएको छ तर नयाँ रुख विरुवा रोप्नतर्फ कसैको ध्यान छैन् । सरकारले नौटंकी रुपमा बागमती सरसफाइ अभियान चलायो। २०७० जेठदेखि हप्ताको प्रत्येक शनिबार बागमती सरसफाइको अभियान चलाइयो । अभियानको नाममा अर्बौं रुपैयाँ खर्च भयो, तर प्रगति शून्य बराबर छ।

बागमतीको स्वरुप हिजो जस्तो थियो, आज पनि त्यस्तै छ। डोको, जुत्ता, झाडु, पब्जा, साभेल भन्दाभन्दै पैसा मात्र स्वाहा बनाइयो। जनताले तिरेको करदेखि विदेशीले दिएको सहयोगसमेत भ्रष्टाचार गरे। संघका सबै मन्त्रालय सिंहदरबारभित्र छ। सिंहदरबार नजिकै भएको बिजुलीबजारको धोबीखोला गन्हाएर हिँड्न सकिँदैन्।

अनि यस्तो पनि राजधानी हुन्छ ? काठमाडौंमा भएका अधिकांश खोलानाला मिचेर घर बनाइएको छ। बाँकी भएका खोलाहरु साँघुरिँदै गएको छ। खोलामा पानी बग्दैन्, ढल बग्छ । काठमाडौं मुलुकको राजधानी हो, तर यहाँको फोहोर व्यवस्थापन गर्न निकै नै चुनौती छ। सरकारले फोहोर उठाउन सहयोग नगरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर उठाउन छोडिएदिए।

उनले सिंहदरबार सारेर अन्यत्र लैजान सरकारलाई चुनौती दिएका थिए। काठमाडौंलाई मुलुकको राजधानी भन्न सुहाउँदैन्। फोहोर पार्छन् काठमाडौंबासी, दुःख पाउँछन् बाहिरी जिल्लाबासी। काठमाडौंमा पानीको अभाव छ। भएका खोलानाला सबै फोहोर बनाइहालें अनि पानीको हाहाकार हुनु स्वाभाविकै हो।

फोहोर पाल्न नुवाकोट र पानीका लागि मेलम्चीको सहारा लिनुपरेको छ। मेलम्चीको पानी काठमाडौं ल्याउन अब मेलम्चीबासीले नै रोक लगाउन देखिएको छ। मेलम्चीमा वर्षेनि बाढी जान्छ। बाढीका कारण धेरै धनजनको क्षति हुन्छ । तर, काठमाडौंबासीले के सहयोग गर्छन्।

काठमाडौंलाई पानी पठाउँदा खेती किसानी गर्न पानीको समस्या हुने भएपछि उनीहरुले पानी नदिने भन्न थालिसकेका छन्। नुवाकोटका स्थानीयले फोहोर फाल्न नदिने भनिसकेका छन्। काठमाडौंबासी धेरै स्वार्थी भए। उनीहरु फोहोर गर्छन्। फोहोर पार्न जानेका छन् तर व्यवस्थापन गर्न आउँदैन्।

महानगरले पटकपटक फोहोर छुट्याइदिनुस् भनेर आग्रह गरिसकेको छ । तर, उनीहरु टेर्दैनन् । उनीहरु फोहोर गर्ने अनि रोगीचाँहि नुवाकोटबासी बनिदिनुपर्ने ? नुवाकोटको उर्वरभूमि जम्मै मरुभूमिमा परिणत भएको छ । दुर्गन्धका कारण नुवाकोटबासी बस्न नसक्ने स्थितिमा पुगेका छन्।

माछा पाइने खोलामा अहिले फोहोर बग्छ । प्रदूषणका कारण रोगीहरु बढिरहेका छन्। काठमाडौंमा सबैभन्दा धेरै रोगी भेटिन्छन्। अधिकांशलाई सुगर, प्रेसर, क्यान्सर, मृगौला रोगले च्यापेको छ। अहिले सर्वसाधारणहरु काठमाडौंलाई छिःछि भन्न थालिसकेका छन्। काठमाडौंलाई दुर्गन्धित शहर भनेर घोषणा गर्ने बेला भइसकेको छ।

काठमाडौंलाई कसरी राजधानी भन्ने ? अव्यवस्थित, कुरुप, दुर्गन्ध र फोहोरले भरिपूर्ण छ, काठमाडौं। उपत्यका बाहिरका आम सर्वसाधारणलाई गुजारा गर्न यहाँ महामुश्किल छ। धुँवाधुलो र फोहोरका कारणले बस्नै सकिँदैन्। चुरोट खाएपछि सडकमै ठुटा फालिएको हुन्छ। गुट्खा खाएर सडकमा थुक्छन्।

जे खायो, प्याकेट बाटोमै फाल्यो। शहर सफा हुनलाई पहिले नागरिक जिम्मेवार हुनुपर्छ । शिक्षित जति सबै काठमाडौंमा थुप्रिएका छन् तर सबैभन्दा धेरै फोहोर यही छ। अनि काठमाडौंबासीलाई के सुकिलामुकिला भन्नु ? मान्छेको चाप एकदमै धेरै छ । सरकारले कुनै एक्सन लिन पनि सक्दैन्।

सबै जना काठमाडौं आएर थुप्रे भने चाप कसरी धान्छ ? यहाँका स्थानीयबासीहरुले उपत्यका छोड्नुपर्ने अवस्था आएको छ। किन कि उनीहरुलाई काठमाडौंमा बस्न सकस परिसकेको छ। स्थानीय निकायदेखि सरोकारवाला निकायहरु जिम्मेवार नहुने हो कि उपत्यका झनै फोहोर बन्छ।

कबाडी, वर्कसप, ड्राइभिङ सेन्टर, ईट्टाभट्टा अन्यत्र सार्ने। खोलानालामा फोहोर फाल्न नदिने। प्रदूषण गर्ने सवारी साधनहरु चल्नमा प्रतिबन्ध लगाउने गर्ने हो भने केही हदसम्म प्रदूषण कम होला। अझैपनि सरकारले हेलचेक्य्राइ गर्न हो भने उपत्यका रित्तिन बेर छैन्। यहाँ न खानलाई अन्न रोप्ने ठाउँ छ, न पानी छ, न फोहोर फाल्ने ठाउँ छ। सरकारले नै उपत्यकालाई यो अवस्थामा पुर्यायो।