नेपाल सुपर लिग: ललितपुरलाई हराउँदै काठमाडौं प्ले अफमा,धनगढी क्वालिफायरमा

काठमाडौं। डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई हराएको छ र, नेपाल सुपर लिगको प्ले अफमा स्थान बनाएको छ।

शनिबार भएको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो। त्रिपुरश्वेरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनायो। हारका बाबजुद १० अंकका साथ चौथो स्थानमा रहेको ललितपुर पनि प्ले अफमा पुग्यो।

समान अंक जोडेर पनि गोल अन्तरमा पछि परेको झापा भने प्ले अफमा पुग्न सकेन।

धनगढी क्वालिफायरमा

लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितले धनगढी एफसीलाई फाइदा भएको छ। ८ खेलबाट १३ अंक जोडेको धनगढीले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ।

अब उसले फाइनल प्रवेशका लागि सोमबार पोखरा थन्डर्ससँग खेल्नेछ। शीर्ष स्थानमा रहेका पोखराले ८ खेलबाट १५ अंक जोडेको छ।

तेस्रो र चौथो स्थानमा रहेर प्ले अफमा पुगेका काठमाडौं र ललितपुरले मंगलबार इलिमिनेटर खेल्ने छन्। यो खेलको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नु पर्ने छ।