मन्त्री ज्वालाका पीएसओ र गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई कारबाही

काठमाडौं। बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोगको आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएपछि मन्त्री ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।

प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। बालकुमारी घटनामा पीएसओ र प्रहरी अधिकारीको कमजोरी देखिएकाले निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए। प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत भएको थियो ।

छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए। यस्तै प्रधानमन्त्री प्रचण्डले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताएका छन्।

शनिबार बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरुसँग बालकुमारी घटनाबारे ब्रिफिङ लिएका थिए।

प्रधानमन्त्री प्रचण्डले भने,‘आज बिहान मात्रै गृह मन्त्रालय र सम्बन्धित सुरक्षा अधिकारीहरु, प्रमुख जिल्ला अधिकार सबैको चाहिँ संयुक्त बैठक बसेर हामीले यथार्थ पत्ता लगाउने कोसिस गर्यौँ । र, अनि तुरुन्तै राजनीतिक तहमा पनि छलफल गरेर केही कदमहरु चाली सकिएको छ।

हामीले यो आईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ। अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ।

अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक शनिबार बस्ने जानकारी दिए। मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तुरुन्तै राहत दिने निर्णय गर्ने जानकारी दिए।