टेरामक्सदेखि अस्पतालको सामान खरिदमा कमिसन खाएको भन्दै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न तोसिमा कार्कीको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छिन । हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर थियो ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टिकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गीरन।

सांसद कार्कीले २०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गरिन । उनले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन । सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौति गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन। उनले भनिन्,वीर अस्पतालमा १३३ वर्षदेखि निःशुल्क रुपमा खाना, खाजा खुवाउने गरिएको थियो बिरामीहरुका लागि। यो सुविधा थियो । त्यो मात्रै होइन, बिरामीहरुलाई त्यहाँ अक्सिजन पनि निःशुल्क रुपमा दिइराखिएको थियो। त्यसको समेत पनि बजेट कटौति गरेर अहिले यस्तो अवस्थामा वीर अस्पताल पुग्योकि ग्यास कम्पनीले पत्र काटेर चेतावनी दिएको छ ग्यास सप्लाई बन्द गर्छौं भनेर। यो भयो भने दुर्घटना हुन्छ सभापतिज्यू।

उनले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरुलाई कुनै प्रक्रिया पनि पूरा नगरीकन ठाडो आदेशमा कामबाट हटाए। र, त्यसको एक महिनामा एक दिने सूचना जारी गरेर आफ्नै जिल्लाका मानिसहरुलाई भर्ती गर्नेगरी गुपचुप अन्तर्वार्ता लिएर कर्मचारी राख्ने काम गरिरहेको समाचार पनि आईरहेकामा त्यसको सत्यतथ्य छानबिन गर्नुपर्ने बताएकी छन्।