फेसबुकको नक्कली आइडी बनाएर ‘हनी ट्र्याप’ गर्ने ३ जना प्रहरी नियन्त्रणमा

सांकेतिक तस्वीर

पोखरा । पोखरामा सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर हनी ट्र्याप गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्र्यापमा पारेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भेडिओहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भिडिओ र स्क्रिण रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की दिखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन्। उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।