यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे।

नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो। यू-१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताए। बाहिर गएर खेल्न नपाए पनि एक साता क्याम्प हुन लागेकोले खुशी लागेको देवले बताए।

उनले विश्वकप खृल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताए।यू-१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ। आशा छ राम्रो प्रदर्शन गर्छौं। एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं,’ देवले भने।

यू-१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले ८ वर्षपछि फेरि विश्वकप खेल्न जाँदै गर्दा आफू लक्की रहे पनि यसमा क्यान र खेलाडीले योगदान रहेको बताए । टमाटाले मानसिक र शारीरिक रुपमा टिम तयार रहेको बताए ।

‘दक्षिण अफ्रिकामा पहिलो पटक खेल्न जाँद‌छौं । चुनौती त छ तर हामी त्यो चुनौती चिर्न तयार छौं’ टमाटाले भने, ‘विश्वकप अघि नै चार खेल खेल्दैछौं र त्यसले पनि हामीलाई सहयोग गर्छ। हामीले पहिले पनि टेष्ट नेशनलाई हराइसकेका छौं र फेरि नेपालको झण्डा फहराउने छौं।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको भन्दै टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए। क्यानले विश्वकपका लागि टिमलाई चाँडै पठाउन लागेको र नामिबिया र स्कटल्याण्डसँग अभ्यास म्याच खेल्ने तालिका रहेको उनले बताए । नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली टिमले राम्रो खेलेर नै यू-१९ विश्वकप पुगेको र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए ।

घिसिङले नेपालको सिनियर टिम र यू-१९ टिमले २०२३ मा एसिया कप खेलेको र २०२४ मा पनि सिनियर टिम र यू-१९ टिमले विश्वकप खेल्न लागेको चन्दै सुखद संयोग रहेको बताए।

यू-१९ विश्वकपमा नेपाल कठिन समूहमा रहेको। समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ। नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ।