नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज हुँदै

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ।

पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

जारी शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ। शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन्। उनले शृङ्खलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । वेस्ट इन्डिजका जोन्सन चार्ल्सले पनि एउटा शतक बनाएका छन्।

उनले नेपालविरुद्धको तेस्रो खेलमा अविजित एक सय १९ रन बनाएका थिए। जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी पनि बनेका छन्। जोन्सन चार्ल्सले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन्।

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो। वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो।

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो। त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी आईसीसी टी–२० विश्वकप खेल्दैछ। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। वेस्ट इन्डिज भने समूह ‘सी’ मा छ। त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन्। नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ।