सुदूरपश्चिम सरकार हेरफेर गर्न माओवादीका सांसदको माग

काठमाडौं। नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत प्रदेशसभा सदस्यहरूले सरकार हेरफेर गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक मानबहादुर धामीसहित बहुमत सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुदूरपश्चिम सरकारको विषयमा गम्भीर हुन आग्रह गरेका हुन्।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन्। राज्य मन्त्री गीता माल हुन्। प्रधानमन्त्रीलाईै भेटेर तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा आग्रह गरिएको प्रमुख सचेतक धामीले बताए।

उनले भने, ‘सरकार निकै सुस्त भयो। हाम्रो पार्टीबाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन। हाम्रा मन्त्रीलाई फिर्ता बोलाउन र सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन्। बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए।

प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुलेनै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगाएतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन्।