विद्यालयमा विपद्सँग जुध्ने संरचनाको निर्माण गरौं: उपप्रमुख डंगोल

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताउनुभएको छ।

मंगलवार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताउनु भयो।

उपप्रमुख डंगोलले विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताउनु भयो।

उहाँले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताउनु भयो । साथै उहाँले आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताउनु भयो।

उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताउनु भयो। पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको बताउनु भयो।