गठबन्धन भत्काएर निकम्मा सरकार फालिन्छ,०८४ कुरिँदैन: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले अहिले देश बर्बाद हुँदै गएको बताए।

उनले मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउँदै बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि आफूले सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए। उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी, कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको समेत बताए।

उनले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए। मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको समेत उनले बताए।

‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ। सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ,ओलीले भने, ‘हामी मिसन ०८४ मा छौँ।

मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ। खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ। हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ। हाम्रो पक्षमा बढाएको हुनुपर्छ।

अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएर बसेको बताए।