कृषि क्षेत्रको विकास र विस्तार गर्न कृषि ऐन ल्याउछाै: कृषि मन्त्री भुसाल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीमा मन्त्री भुसालले सो जानकारी दिएका हुन्।

मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउँदै मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने उनको भनाइ थियो।

मुलुकका विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने उनले बताए। स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए।

मौसम अनुकूल बीउको सञ्चितीकरण र त्यसको जगेर्ना गर्नुपर्ने बताउँदै उनले कृषि अनुसन्धान तथा कृषि विज्ञानका क्षेत्रमा प्राप्त भएका उपलब्धिको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे।

प्रदर्शनीमा परम्परागत प्रविधिका ओखल,ठेकी,मदानी,जाँतो,फलफूल,खाद्य सामग्री,सामुदायिक उत्पादनका बीउ बैंक,राउटेले निर्माण गरेका आरी,लोपोन्मुख खाद्यान्नसमेत राखिएको छ।