सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर

काठमाडौं। सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका प्रवक्ता कार्कीले बताए।

सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालिन अध्यक्ष, उनकी पत्नी, छोरीहरु र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो।

१६ भदौ २०७९ मा दायर भएको मुद्दामा सिभिल होम्सका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ विरुद्ध ३ अर्ब ३१ करोड विगो सहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदावी गरेको थियो।

विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड विगो मागदावी गरेको छ। मुद्दा दायर हुने बेलामा भने उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन्। विभागले सृजनासँग भएको सवारीसाधन र जग्गा जफत हुनुपर्ने मागदावी पनि गरेको थियो।

इच्छाराजले आफूले गैरकानुनी रुपमा कमाएको सम्पत्ति छोरीहरु प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको दावी थियो।

त्यसैले छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर समेत जफत हुनुपर्ने माग गरेको थियो। अर्की छोरी प्रतिष्ठाको नाममा रहेको एक अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदावी पनि विभागले गरेको थियो।