नेपाललाई न्युजिल्यान्डले दियो ३०३ रनको बलियो लक्ष्य

काठमाडौं। आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाललाइ न्युजिल्यान्डले ३ सय ३ रनको बलियो लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो। रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो।

तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे। १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए। १ सय ६ बलमा शतक पूरा गरेका उनले त्यसपछि भने आक्रामक ब्याटिङ गरे। अन्तिम १९ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो। चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो।

पहिलो पावरप्लेमा ५३-० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए। सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए। वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।

१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए। लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए। तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन्।

त्यसपछि रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे। ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए। उनी ४२ औं ओभरमा आकाश त्रिपाठीको शिकार बने।

त्यसपछि ४३ औं ओभरको लगातार बलमा गुलशन झाले लाच्लन स्ट्याकपोल र ज्याक कमिंगलाई खाता नखोली पेभेलियन फर्काए। एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए। सुभाषले नै अन्तिम ओभरमा म्याट रोलाई २ रनमा आउट गरे।

नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए। दीपेश, तिलक र आकाशको नाममा १-१ विकेट रह्यो। नेपालले अब बुधबार हुने खेलमा पाकिस्तानसँग खेल्नेछ। यो समूहमा अफगानिस्तान पनि रहेको छ।