१५ वर्ष अघिको हत्या घटनामा पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी

वीरेन्द्रनगर। सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। १५ वर्षअघि एक युवकको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले अनुमति दिएको हो।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।

हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’भनिने वीरबहादुर मल्ल र ‘अशोक’भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।