ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक फरार

तनहुँ । तनहुँमा मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ। तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको को मिनी ट्रक गएराति सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेको उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो। सोमबार बिहान साढे दुई बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन्। चालक फरार भएपछि उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।