एमालेले प्रधानमन्त्री दाहाललाई बुझायो ७५१ बुँदे ज्ञापनपत्र

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ७ सय ५१ बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको संकल्प यात्रामा स्थानीयहरूले माग गरेका विषय र आफूहरूको अध्ययन र अनुभवले देखाएका कुरा समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौती समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए।

उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताए । ज्ञवालीले जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, वागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेको बताए ।

सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग रहेको ज्ञवालीले बताए । उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनः निर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषय पनि जनताको प्राथमिकतामा रहेको उनले बताए ।