ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, दुई जना घाइते

सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन्। आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई १२–१३ जनाको समूहले कुटपिट गरेका थिए। त्यसपश्चात घटनास्थल पुगेको प्रहरी टोलीमाथि सम्झाई बुझाई गर्नेक्रममा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

उनले भने, ‘घटनास्थल पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो । उनीहरूले प्रहरी माथि नै हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे। हाम्रो साथीहरू घाइते हुनुभयो।

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुलाई उपचारका लागि आइतबार राति नै कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ। प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।