सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।

बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए।

अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए। एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनले बताए। उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए।

उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ। अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ। तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ।

हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ। सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले। गम्भीर हुनुपर्ने अवस्था छ। यदि गम्भीर भएन भने देश बरबाद हुन्छ।

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए। अहिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनले आरोप लगाए।

ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।