६ महिनामा मानव बेचबिखन मुद्दामा ८९ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्। ती मध्ये ६७ जना पुरुष र २२ जना महिला छन्। सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन्।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै आएको छ।

सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन ब्यूरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। सो अवधिमा १ सय ४९ जनालाई अभियोग लागेको छ।

सो अवधिमा देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय ५० महिला, २६ पुरुष र ६० बालबालिका रहेका छन्।