जीवित श्रीमानको मृत्युदर्ता बनाउने महिला र मृत्युदर्ता गरिदिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं। जीवित श्रीमान् छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो। अदालतले वडासचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

भएको के थियो 
रामेछाप जिल्लाको मन्थली नगरपालिका ३, ठुलीमदौकी निर्मला खत्रीले आफ्नो श्रीमान् जीवित हुँदाहुँदै पनि श्रीमानको मृत्यु भएको प्रमाणपत्र बनाएर बिधुवा भत्ता बुझ्दै आएकी थिइन्।

जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका उनका पति रामबाबु खत्री जीवित हुँदाहुँदै निर्मलाले श्रीमानको मृत्यु भएको भन्दै वडा कार्यालयबाट एकल महिला भत्ता बुझ्दै आएकी थिइन्। निर्मलाले गत वर्षको माघ महिनासम्म गरी कुल १५ महिनाको मासिक २ हजार ६६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन्।

निर्मलाको नाममा २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनेको पाइएको थियो। तर एकल महिलाको भत्ता बुझ्न निर्मला सिन्दूर पोतेसहित बैंकमा पुगेपछि बैंकका कर्मचारीलाई शंका लागेर सोधपुछ गर्दा निर्मलाको श्रीमान् जीवित भएको खुलेको थियो।

खत्रीलाई तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी एकल महिलाको परिचयपत्र समेत बनाइदिएका थिए।

श्रीमान् जीवित हुँदाहुँदै मृत्यु भएको भनी कागजात बनाई भत्ता लिएको पाइएपछि अख्तियारमा परेको उजुरीका आधारमा एकल महिलाको परिचयपत्र बनाइ भत्ता दिने शिवकुमार महतो र भत्ता लिने निर्मला खत्रीविरुद्ध अख्तियारले गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

सोही मुद्दामा मंगलबार फैसला सुनाउँदै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो।