उपचारका गर्न अस्पताल ल्याइएकी ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार

सांकेतिक तस्वीर

काठमाडौं । डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खुलेको छ। माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकी बालिकामाथि पटक–पटक बलात्कार भएको पाइएको हो।

उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि बलात्कार गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक–पटक बलात्कार गर्दै आएको पाइएको छ।

प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिना अघि बलात्कार गरेको बालिकाले बताएकी छन्। स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ।

बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।