एसीसी प्रिमियर कपमा नेपालले सेमिफाइनलमा पुग्न कुवेतसँग खेल्दै

फाइल तस्वीर

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा बाँगीमा सुरु हुनेछ।

नेपाल समूह डीको विजेता र कुवेत समूह ए को उपविजेताको रुपमा क्वाटरफाइनलमा भिड्न लागेका हुन्। नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो। माल्दिभ्सलाई २१४ रनले हराएको थियो। माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको शतकीय इनिङ खेलेकी थिइन्।

युवा ब्याटर पूजा महतोसँग पाँचौं विकेटका लागि १६६ रनको साझेदारी समेत गरेकी थिइन्। पुजाले ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रन बनाएकी थिइन्।

नेपालको सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा प्रमुख हतियार हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । कविता कुँवर र आश्मिना कर्माचार्य प्रमुख बलर हुन्।

उता कुवेतले समूह चरणमा म्यानमारलाई २७ रन र सिंगापुरलाई १० विकेटले हराएको थियो। थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो। कुवेतकी प्रियादा मुराली र जिफा आजीम प्रमुख ब्याटर हुन्। यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।

२०१९ यता नेपाल र कुवेतबीच चार महिला टी-२० आई खेल भएका छन्। नेपाल ३४ रन, २५ रन, ९ विकेट र ३० रनले विजयी भएको थियो।

पहिलो क्वाटरफाइनलमा हङकङ र थाइल्यान्ड खेलेका छन्। त्यस्तै दोस्रो क्वाटरफाइनलमा इन्डोनेसिया र यूएई खेलेका छन्। तेस्रो क्वाटरफाइनलमा मलेसिया र जापान भिड्नेछन्। सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन्।