फेरि टर्‍यो झरी,भोलिदेखि मौसममा सुधार हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्‌गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए।

उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्‌गले जानकारी दिए।

अहिले संघीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। उनका अनुसार मधेश प्रदेशका एकरदुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ।

आज रातिको समयमा कोशी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ।