कांग्रेसका ६ शुभेच्छुक संस्थाले गरे महासमिति बैठक बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठक पार्टीका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरेका छन्।

विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन–तीनजना प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था प्रतिकूल हुने गरी महासमिति बैठक अघि बढेको भन्दै ती शुभेच्छुक संस्थाले बहिष्कार गरेका हुन्।

ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० ले महासमिति बैठक बहिष्कार गरेका छन्।

हामी नेपाली कांग्रेसका शुभेच्छुक संघ संस्थाहरू संस्थाको विधान बमोजिम केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा १८ (१) (घ) बमोजिम भातृ संघ एवं शुभेच्छुक संस्था प्रत्येकबाट सम्बन्धित संस्थाको केन्द्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित ३ जना नेपाली कांग्रेसको केन्द्रीय महासमितिमा पठाउने विधानको प्रावधान बमोजिम शुभेच्छुक संस्थाका केन्द्रीय अधिवेशन पश्चात् निर्वाचित शुभेच्छुक संस्थाहरूबाट अध्यक्ष पदेन र अन्य २ जनाको नाम पठाएकोमा सो नामलाई विधानको बर्खिलाप हुने गरी व्याख्या समेत गरी उक्त नामहरु समावेश नगरेको पाइएको महासमितिको बैठकमा हामी सहभागि नहुने व्यहोरा जानकारी गराउँछौं,’ ती संस्थाका अध्यक्षहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरी गरेको निर्णयसमेत नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित०को बर्खिलाप हुने गरी व्याख्या गरिएको उनीहरूले बताएका छन्।

कांग्रेस महासमिति बैठकअन्तर्गत मंगलबार बन्द सत्र हुँदैन। फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा आजबाट बन्दसत्र सुरू हुनेछ।
महासमिति बैठक ललितपुरको गोदावरीमा अहिले बिहान ९ बजेबाट सुरू हुनेछ।