आधा महिना भन्दा बढी हिँडेर मिटरब्याज पीडितहरु आन्दोलनका लागि आज काठमाडौं आइपुग्दै

काठमाडौं। न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै पैदलयात्रा मार्फत काठमाडौं आइपुग्दैछन्। उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन्।

पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन्। उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए।

अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए। त्यसपछि काठमाडौंतर्फ लागेका हुन् ।मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन्।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन्। यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए।

पीडितहरुको धर्ना,प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो।

तर आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताए।

पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिबाटिकामा बस्ने तयारीमा छन्। सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताए।