नेपाल ए ४ विकेटले पराजित,क्यानडाले जित्यो सिरिज

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले हराएको छ। यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ।

सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले। उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे।

दत्त १४ रनमा आउट भए। त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे। ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए।

तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए। उनी ५८ रनमा अविजित रहे। आरोन जोनसनले ३६ रन जोडे।

नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो ।

यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

नेपालको सुरुवात भने राम्रो थियो। अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए। त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन।

अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए। सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए ।क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २/२ विकेट लिएका छन्।