वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ। समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ। त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो ।

समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन्। तर गोलअन्तरमा नेपाल अघि छ।

अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ। पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो।

लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन्।

८ टोली सहभागी प्रतियोगितामा समूह ए बाट जोर्डन र लेवानोनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्। दुवैले लगातार दुई खेल जितेका छन्।

अब शुक्रबार हुने यी दुई टोलीको खेलबाट समूह ए को विजेता र उपविजेता निर्णय हुनेछ। नेपालले सेमिफाइनलमा यी दुई मध्ये एक टोलीसँग खेल्नुपर्नेछ।

जोर्डन साविक विजेता समेत हो भने अहिलेसम्म भएको ७ मध्ये ५ संस्करणको रुपमा पनि जितेको छ। लेवानोनको सबैभन्दा राम्रो नतिजा भनेको उपविजेता हो । गत संस्करणको फाइनलमा लेवानोन जोर्डनसँग नै पराजित भएको थियो। यस्तै लेवानोन दुई पटक तेस्रो भएको थियो।

पहिलो पटक प्रतियोगिता खेल्दै आयोजकको रुपमा रहेको साउदी अरेबिया र पहिलो पटक नै सहभागिता जनाएको ग्वाम समूह ‘ए’ मा लगातार दुई खेल हार्दै बाहिरिसकेको छ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बा सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छिन्। पहिदलो खेलमा सिरिया विरुद्ध एक गोल गरेकी उनले दोस्रो खेलमा इराकलाई नेपालले ५-० ले हराउँदा पाँचै गोल गरेकी थिइन्।