मीटरब्याजः बाहिरी जिल्लाका मात्रै नभई उपत्यकाबासी पनि पीडित,सरोकारवाला निकाय रमिते

फाइल तस्वीर

जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामान्ती, दलालीहरुको बिगबिगी हुन्छ। सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ। अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ। एक तोला सुन राखेर ५० हजार रुपैयाँ दिन्छन्।

तीन महिनामा निखान्न सकेन् भने त्यतिमै एक लाख बढी पर्ने सुन पचाइदिन्छन्। एकातिर यसरी सोझासोझीलाई सुन पसलेले लुटिरहेका छन् भने अर्कोतिर नयाँ सुन किन्न जानेलाई पनि सोत्तर बनाइरहेका छन्। मिसावट सुन बेच्ने गरिएको छ। तौलमा पनि हिनामिना गर्ने काम सुन पसलेद्धारा भइरहेको छ।

सुन पसलेहरुको यो धन्दा पछिल्लो समय ह्वात्तै बढेको छ । पैसाको खाँचो परेकाले यसरी आफ्नो सुन धितो राखेका छन्। यसको फाइदा सुन पसलेहरुले उठाएका छन्।

सामान्य अर्थमा भन्ने हो भने सुन पसलेले मीटरब्याजको धन्दा चलाइरहेका छन्। कानुन व्यवसायी, लेखनदास र जग्गा दलालीहरु अहिले सर्वसाधारणको घरको नक्सा र लालपूर्जाको प्रतिलिपि बोकेर हिँडेका छन्।

उनीहरुले जतिपनिलाई ऋण दिएका छन्, तिनको जायजेथोको प्रतिलिपि हो यो। एक करोडको धितो राखेर २५ देखि ३० लाख दिने उनीहरुको दाउ त्यो धितो पचाउने हो । उनीहरुले कर्जा दिँदा ६ महिनाको टाइम दिन्छन्, फिर्ता गर्न सकेन् भने करोडपतिलाई रोडपति बनाइदिन्छन्।

सबैतिरबाट सोझासाझीलाई सोत्तर बनाउने काम भइरहेको छ। मालपोतमा घरजग्गा नामसारी गर्दा लाग्ने खर्च पनि ऋणीलाई व्यहोर्न लगाइन्छ। ३० लाखमा पाँच लाख त राजश्व नै बुझाउनुपर्छ। कतिपयले सीधासाधीलाई बैंकको चेक दिएर घरजग्गा आफ्नो नाममा लैजान्छन्, पछि त्यो चेक नै साटिदैन्।

फेरि आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनका लागि अनेकौं झमेला खेप्नुपर्छ। मुद्दामा जानुपर्यो, खर्च लाग्छ, दुःख पाइन्छ। पैसा फिर्ता गर्दा पनि धितो फिर्ता नगरिदिएको धेरै उदाहरण छन्। देशैभर यस्ता घटना घटेका छन्। बाहिर जिल्लाका पीडितहरु न्याय खोज्दै उपत्यका छिरेका छन् भने उपत्यकाबासी आफैंपनि पीडित छन्।

सुन पसल र दलालहरुले बैंकबाट पैसा निकालेर घरमा राख्ने । अनि मान्छे खटाएर सोझासाझीलाई ‘मुर्गा’ बनाउने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ। कानुन व्यवसायी, लेखनदास र दलालहरुलाई खटाएर यस्तो काम गर्न थालिएको छ । जताततै यस्तो धन्दा मौलाएको छ ।

जसले पैसा व्यक्तिसँग भएको पुष्टि गर्दछ । बैंक तथा वित्तिय संस्थासँग हुनुपर्ने रकम घरमा राखेर व्यक्तिहरुले यसरी लगानी गरिरहेका छन् । अहिले काठमाडौंमा मीटरब्याज पीडितहरुको आन्दोलन चर्किएको छ । पूर्वदेखि पश्चिमसम्मका मीटरब्याज पीडित सडक संघर्ष गरिरहेका छन्।

तर, राजधानीका पीडित कहाँ जाने ? जति नै पीरमर्का भएपनि उनीहरु चुप लागेर बसेका छन् । किन कि कानुनमा उनीहरु तल छन् । यति समयमा ऋण फिर्ता गरेनौं भने घरजग्गा खानुस् भनेर उनीहरुले पास नै गरेर दिएका हुन्छन् । सुनको हकमा त्यही छ । आफ्नो सम्पत्ति डुबेको पीडा उनीहरु खपेर बसेका छन्।

कुनै पनि व्यक्ति वा संघसंस्थाले कर्जा लगानी गर्दा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने कानुनी व्यवस्था छ। तर, यहाँ त मनलाग्दी छ। बाठाटाठा र शोषकीहरुले ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लगानी गरिरहेका छन्। तोकिएको समयमा पैसा फिर्ता नगरेमा धितो नै खाइदिन्छन्।

पञ्चायती कालमा पनि यस्तो शोषक थिएनन् होला, जुन अहिले छन्। अर्कोको घरबास उडाएर दलालहरु मोटाएका छन् । सरकार यति लाचार भयो कि के भन्ने ? न यस्ता शोषकीहरुलाई कारबाही गर्न सक्छ न पीडितहरुलाई न्याय दिन । जनता जतिसुकै ठगिऊन्, सरकार टुलुटुलु रमिता हेरेर बस्छ।

बजारमा के भइरहेको छ ? जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् ? सरकार मतलब गर्दैन्। जग्गा दलाली, लेखनदास र कानुन व्यवसायीहरु आफू कमिशन खानका लागि सीधासाधीलाई शोषकीहरुको हातमा पुर्याइदिन्छन्। त्यही शोषकले उनीहरुलाई ‘मर्नु र बाँच्नु’ को बनाइदिन्छ।

पहुँच नभएका र आम्दानीको स्रोत नभएकालाई बैंकले कर्जा दिँदैन् । करोडको धितो भएर के गर्ने, घुस खुवाउन सक्दैन् । अर्कोतिर बैंकका कर्मचारी उनीहरुले चिनेका पनि हुँदैनन्। दलालहरुले त झुठ्ठा डकुमेन्ट बनाएर कर्जा लिन्छन् । धितो भएकाले पाउँछन् ? किन कि उनीहरुलाई नक्कली कागजात बनाउन आउँदैन्।

घुस खुवाउन सक्ने तिनको अवस्था हुँदैनन्। बाठाटाठाले बिना धितो बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएका छन् । तर, धितो भएकाहरु मीटरब्याजीको चंगुलमा फसेका छन्। यो विषय त देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं प्रकरणबाट पनि पुष्टि भयो । बिना धितो एक अर्ब ऋण दिँदा अहिले बैंकका सञ्चालक प्रहरी हिरासतमा पुगेका छन्।

यता, अर्को एक अर्बमा राखिएको धितो पनि कमशल भएको समाचारहरु बाहिरिएका छन् । बैंकले कर्जा दिने लक्षित व्यक्ति छन् । चौधरी ग्रुप, दुर्गा प्रसाईं, शेखर गोल्छा, मीनबहादुर गुरुङ्गलगायतका ठूला व्यापारीले बैंकबाट कर्जा पाउँछन् । करोड पर्ने धितो राखेर तिनले अर्बौं रुपैयाँ निकालेका छन्।

सर्वसाधारण त जतापनि मर्कामा परेका छन्। सरकारले बेवास्ता गर्दा लाखौं जनताको बिल्लीबाठ भएको हो । बैंक तथा वित्तिय संस्थाले नै मीटरब्याजलाई प्रवर्द्धन गरे । बैंक ऋण नदिने अनि पैसाको खाँचो परेकाहरु कहाँ जाने ? मीटरब्याजीका होइन् ? मुलुकको मीटरब्याजको धन्दा सल्बलाउनुमा बैंकको ठूलो हात छ।

बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएका दुर्गा प्रसाईं ‘ऋण नतिर्ने अभियान’ मा छन्। उनले ऋण तिरेनन् भने बैंक धरासायी बन्दैन् ? बैंकले त धितो लिलाम गरेर पनि आफ्नो पैसा असुल्न सक्दैन् । बैंक धरासायी बन्नु भनेको आम सर्वसाधारण डुब्नु हो । यता, मीनबहादुर गुरुङ्गलाई ललिता निवासको जग्गा काण्डमा अदालतले सजाय सुनाइरहेको छ।

उनले पनि थुप्रै बैंकबाट ऋण लिएका छन् । सामान्य भाषामा भन्दा बैंकहरु घुसको पछाडि लागे । व्यापारीहरुले घुस दिने भएपछि उनीहरु धितो नहेरिकन धमाधम कर्जा दिए । यसमा कमजोरी फेरि नेपाल राष्ट्र बैंकको हो । राष्ट्र बैंकको काम बैंकहरुमाथि नियमन गर्नु हो । तर, राष्ट्र बैंक चुक्यो।

बैंकहरुले जेसुकै गरेपनि राष्ट्र बैंक आँखा चिम्लेर बस्यो । बेलैमा राष्ट्र बैंकले नियमन गरिदिएको भए, आज बैंकहरु न जेल जानुपर्थ्यो न जनताको पैसा जोखिममा पर्थ्यो । बैंक तथा वित्तिय संस्थाविरुद्ध अराजकता फैलिएको छ। रातारात धनी बन्न खोज्दा बैंक चार्लमचुलुम्म जान थालेको छ।

सर्वप्रथम त बैंक सञ्चालन गर्नुको उद्धेश्य के हो ? यो कुरा बैंकका सञ्चालकले बुझेनन् न सरोकारवाला निकायले बुझाउन सक्यो । राष्ट्र बैंकले लाइसेन्स दियो तर निगरानी राखेन्। जसले गर्दा बैंकहरुले जथाभावी लगानी गरे । सहकारीमा समेत बैंकहरुले कर्जा लगानी गरेका छन्।

बैंकहरुले आठ प्रतिशतमा सहकारी सञ्चालकलाई कर्जा दिए, उनीहरुले मनलाग्दी लगानी गरे। जसको परिणाम अहिले सहकारी क्षेत्रमा देखिएको छ। सहकारी सञ्चालक पक्राउ र भागेसँगै बैंकमाथि त ‘कालो बादल मडारिएको’ छ। राष्ट्र बैंकले त केही गरेन्, अर्थ मन्त्रालय पनि चुपचाप बस्यो।

बैंक तथा वित्तिय संस्थासम्बन्धी यत्रो ऐन छन् तर त्यसको केही काम लागेन्। बैंकले न राज्यको ऐनकानुन मान्यो न जनतालाई सेवा दियो। पुल बनेर ठग्ने काम मात्र गर्यो। तर, सरोकारवाला निकायले मतलब गरेनन्। बैंककै कर्मचारीले बचतकर्ताको खातामा भएको रकम चोरेको समाचारहरु अहिले व्यापक आइरहेको छ।

जसले गर्दा बैंकमाथिको जनताको विश्वास उजाडिँदै गएको छ। अहिले एकाध बैंकमा मात्र समस्या आएको छ,राष्ट्र बैंक र अर्थ मन्त्रालयले बेलैमा ध्यान पुर्याओस्। बैंकहरु सही बाटो हिँडेको भए,आज न सर्वसाधारण सडकमा आउनुपर्थ्यो न बैंकहरु बद्नाम हुन्थें।