गृह मन्त्रालय लिन प्रधानमन्त्री अफरको झुटो प्रचार ?

फाइल तस्वीर

काठमाडौं । मंगलबार एकाएक नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हल्ला चल्यो । केहि सञ्चारमाध्यमहरुले समाचार पनि प्रकाशित गरे।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्दै एमाले,रास्वपासहित सहकार्य गरेपछि सत्ता विमुख हुन पुगेको कांग्रेसले शक्तिमा रहन सरकार बनाउने खेल खेल्नु स्वभाविक भएको भन्दै एक वृतमा चर्चा पनि चल्यो।

तर, मंगलबार साँझ बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गर्यो।

नयाँ गठबन्धनमा गृहमन्त्रीका लागि दौडधुप गरिरहेका रास्वपाका सभापति लामिछानेलाई काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा चलिरहँदा उपसभापति पूर्णबहादुर खड्काले सरकार फेरबदलको कुनै पनि खेलमा कांग्रेस नलाग्नेसमेत प्रष्ट पारेका छन्।

उनले भने, ‘काँग्रेस सत्ताको खेलमा लाग्दैन। र कसैलाई प्रधानमन्त्री प्रस्ताव गरिएको पनि छैन र गर्ने अवस्था पनि छैन।रास्वपा नयाँ गठबन्धनबाट ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भइसकेको छ र उसले उपसभापति डिपी अर्याललाई सोमबार मन्त्रीसमेत बनाइसकेको छ। तर गठबन्धन दलहरूभित्र कसले कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिल्नै बाँकी छ।

रास्वपाले गृह मन्त्रालयसहित चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ। गृहमा माओवादी केन्द्रले पनि दाबी नछाड्दा कुरा मिल्न सकेको छैन। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गृहमन्त्रीका लागि आकांक्षी छन्। गृहमन्त्री पाए रास्वपा सभापति लामिछाने आफैं सरकारमा सहभागी हुने सम्भावना छ।

गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका खबर आएका छन्। त्यसैले उनीहरूले नै कांग्रेसले प्रधानमन्त्री अफर गरेको छ भनेर बालकोट र बालुवाटारमा ‘बार्गेनिङ पावर’ बढाउन प्रचार गरेको हुनसक्छ। कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन, भ्रममा नपर्नुहोला,’ उपसभापति खड्काले भने।

त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पनि कसैलाई प्रधानमन्त्री अफर नगरिएको र कांग्रेस प्रतिपक्षीको भूमिकामा बस्ने बताए। उनले भने, ‘नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना १ नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी।