बिरामी व्यक्ति अर्थमन्त्रीः कसरी आउँछ अर्थतन्त्र ट्यागमा ?

बुढेपाकाले भन्थे, ‘सुखमा नमात्तिनु, दुखमा नआत्तिनु।प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनगठन गरेपछि सेयर लगानीकर्ताहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खाए। अहिले वर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर व्यवसायीहरु निराश भएका छन्। उनीहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खुशीयाली मनाएको दुई दिन पनि टिकेन।

बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर कित्ताकै ३२ सयमा सर्वसाधारणलाई बेचेर ठगेका थिए। आनाको पाँच हजार नपर्ने जमिन ५५ लाखमा बेचे। दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट गाडी बनाई भारतलगायत विभिन्न देशले नेपाललाई बेचिरहँदा यहाँका अटो शोरुमहरुले त्यसको दोब्बर–तेब्बर मूल्यमा सवारीसाधन बेचिरहेका थिए।

पछिल्लो समय बजारमा घरजग्गाको कारोबार ठप्पछ। सेयरकोपनि मूल्य हवात्तै घटेको छ। गाडीको पनि किनबेचमा मन्दी छ। मालपोत र यातायात कार्यालय सुनसान देखिन्छ। राज्यले सबैभन्दा बढी राजस्व उठाउने भन्सार, मालपोत र यातायातबाटै राजस्व उठ्न छोडेको छ।

डा.प्रकाशशरण महत अर्थमन्त्रीबाट हटेपछि केक काटेर खाने दलालीहरु अहिले अर्थमन्त्रीमा वर्षमान पुन आएपछि त झन बिहानैदेखि भट्टी पसल हुन्छन्।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। र, अर्थमन्त्री पनि माओवादीकै नेता पुन भए। माओवादीले जनयुद्धमा सर्वसाधारण, व्यापारीहरुसँग चन्दा उठाएको र नदिँदा मारिदिने गर्नुका साथै बैंक समेत लुटेको अहिले पनि आम नागरिकको आँखा झलझली छ।

व्यापारी होस् या सर्वसाधारण। सरकारी कर्मचारी होस् या पत्रकार। या फिर राजनीतिक दलका कार्यकर्ता नै किन होस्, सबैलाई माओवादीले चट्चट्ी काटेको अहिले पनि सर्वसाधारणलाई याद छ। अब प्रचण्ड नेतृत्वको सरकारमा अर्थतन्त्र झन् नाजुक अवस्थामा पुग्नेछ। अर्थमन्त्री वर्षमान पुन भएपछि बैंकमा पैसा राख्नु हुन्न, बैंक सुरक्षित छैन भनेर बहस चलिसकेको छ।

बैंकमा आफुहरुले राखेको रकम निकाल्न सर्वसाधारणको लाम लाग्न थालिसकेको छ। व्यापार व्यवसायी डुबिसकेका छन्। बैंकको ऋण तिर्न सकेका छैनन्। कर्मचारीलाई तलब दिएका छैनन् र राज्यलाई पनि कर तिर्न सकेका छैनन्। बजार पूरै मन्दीमा छ। प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भएका छन्। र, यो जारी नै छ।

राजधानीको मुटु न्यूरोड, भोटाहिटी, कालीमाटी, त्रिपुरेश्वर, कुपण्डोल, बागबजार, चावहिल लगायतमै थुप्रै सटर खाली देखिन्छन्। सञ्चालनमा रहेकाहरुले पनि ‘पसल बिक्री’ मा लेखिएको पाइन्छ। व्यापारीहरु सटर खोल्नु मात्र हो, बहनी समेत नहुने बताउँछन्। अहिले बैंकका कर्मचारीहरुको पनि हालत खराब छ।

बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर बिक्री नभएपछि कर्मचारीहरु सार्वजनिक स्थल, बाटोहरुमा ग्राहक खोज्दै हिँडेको देखिन्छ। बैंकले उठाउनुछ, दुई करोड तर धितो बेच्दा आउँदा ४०–४५ लाख। त्यसैले पनि बैंक डुब्ने अवस्थामा पुगेको छ। अहिले बजारमा सुनिन्छ कि दर्जनौं बैंकहरुले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकिरहेका छैनन्।

सहकारीले करोडौ बचतकर्ताको खर्बो रकम डुबाइदियो। अहिले हरेक क्षेत्रमा मन्दी छ। यस्तो अवस्थामा बिरामी व्यक्ति अर्थमन्त्री हुँदा अर्थतन्त्र कसरी उकालोतिर लाग्छ ? पुन पटकपटक बिरामी भइसकेका छन्। र, उपचारका निम्ति विभिन्न देश धाइसकेका छन्। अनि आफैं बिरामी पुनले डुबिसकेको अर्थतन्त्रलाई कसरी ट्यागमा ल्याउन सक्छन् ?

अर्थमन्त्री पुनले १२ वर्ष पहिला आफु अर्थमन्त्री हुँदा अर्थसम्बन्धी केही ज्ञान नभएकोले गोराला भनिएको तर अहिले अर्थतन्त्रलाई कसरी ट्यागमा ल्याउने भन्ने योजना आफुसँग रहेको पदभार ग्राहण गर्ने बेला बताएका थिए। जनता सबैभन्दा ठूलो हुन्। तर, जनता न त प्रचण्डलाई विश्वास गर्छन् न अर्थमन्त्री वर्षमान पुनलाई।

छिमेकी मुलुकलगायत विभिन्न देशहरुले पनि प्रचण्डलाई विश्वास गर्दैन। माओवादी भनेकै लुट्ने, ठग्ने, तर्साउने, धम्काउने हो भनेर अहिले पनि सर्वसाधारण कुरा गरिरहेका हुन्छन्। फेरि यही पार्टी सरकारमा गएपछि जनताले कसरी देश विकास हुन्छ भनेर विश्वास गर्नु ? शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री माओवादीका जर्नादन शर्मा हुँदा सर्वसाधारणले पाँच सय र हजारको नोट बैंकबाट निकालेर घरमा लुकाए।

किनकि त्यतिबेला आम नागरिकलाई थाहा भइसकेको थियो कि अब देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्छ। तत्कालिन अर्थमन्त्री शर्मा खुलेर भनेका थिए,सर्वसाधारणले घरमा लुकाएको पैसा म बाहिर ल्याएरै छोड्छु। यद्यपि, उनले त्यो रकम बाहिर ल्याउन सकेनन्। शर्मालाई पनि त्यतिखेर थाहा भइसकेको थियो कि अब मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुग्नेछ।

त्यसमाथि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको असहयोगका कारण उनले गर्भनर बर्खास्त गर्ने प्रस्ताव क्याबिनेट बैठकमा लगे। मन्त्रिपरिषद् बैठकले गर्भनर अधिकारीलाई हटाउने निर्णय गप्यो। तर, सर्वोच्च अदालतको उनको गर्भनर पद जोगाइदियो।

पछि कतिपय सार्वजनिक कार्यक्रममा अर्थमन्त्री र गर्भनरको बोलचाल नै भएन। उनीहरु सँगै हुँदा समेत बोलेनन् । र, एकअर्कालाई घोचपेच गर्न थाले । घरजग्गा, गाडी र सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै तत्कालिन अर्थमन्त्री जर्नादन शर्माको राजीनामा समेत मागे ।

धेरै जनताको आशा थियो, ०७९ मंसिर ४ गतेको चुनावपछि अर्थतन्त्र ट्यागमा आउनेछ। चुनावपछि बनेको सरकारले मुलुक डुब्नबाट जोगाउने सर्वसाधारणको आशा थियो। सो निर्वाचनमा जनताले कुनै पनि पार्टीलाई बहुमत दिएनन्। जसअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो हुन पुग्यो। तेस्रो पार्टी माओवादी वा ३२ सिटेले कांग्रेसलाई सरकार बनाउन दिएन।

जनताले नपत्याएर भोट नदिएको पार्टीका अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री हुँदा आज मुलुक नाजुक अवस्थामा पुगेको छ। मुलुकको अर्थतन्त्र डुबिसक्दा पनि प्रचण्ड सरकार छोड्दैंनन्। आफ्नो कार्यकर्ता वा नजिकको बिरामी मान्छेलाई अर्थमन्त्री बनाइएको छ। अनि बिरामी व्यक्तिले कसरी काम गर्न सक्छ ? ०७४ फागुन ३ गते एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री भए।

प्रधानमन्त्री भएपछि उनी देश र जनताको काम गर्न छोडेर कहिल्यै उपचारका लागि विदेश पुग्थे त कहिले टिचिङ अस्पतालको बेथमा हुन्थे । बिरामी व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा त्यसको मार देश र जनताले भोग्नुपप्यो। अहिलेका अर्थमन्त्री वर्षमान पुन पटकपटक बिरामी भएर उपचारका निम्ति चीन पुगेको पनि छलङ्गै छ।

उनी फेरि बिरामी भए भने उपचारको निम्ति विदेश नै पुग्छन्। ओलीले आफ्नो कार्यकालमा कामभन्दा बढी उपचार गरेपछि ०७४ सालमा पहिलो पार्टी बनेको एमाले ०७९ सालको निर्वाचनमा दोस्रो पार्टी बन्न पुग्यो। अब ०८४ सालको निर्वाचनमा माओवादीले एक सिट पनि जित्ने छैन। अहिले भएको ३२ सिट पनि गुम्नेछ।

केही दिनअघि कांग्रेसको महासमिति बैठक भयो। बैठकमा ०८४ सालको निर्वाचनमा गठबन्धन गर्न नहुने कुरा उठ्यो । कांग्रेस र माओवादी एक्लैएक्लै जनताको घरमा जानुपर्ने कुरा उठ्यो। कांग्रेसले गठबन्धन नगर्दा ०८४ सालको निर्वाचनमा एक सिट पनि नजित्नेमा प्रचण्ड स्पष्ट भए।

त्यसकारण उनले कांग्रेससँग भएको गठबन्धन तोडे। र, एमाले कहाँ पुगे। अब एमालेसँग मिलेपनि जनताले माओवादीलाई विश्वास गर्ने छैनन्। अबको केही वर्षमै माओवादी पतानसाप हुनेछ।

क्षमता नभएको व्यक्ति प्रधानमन्त्री हुँदा मुलुकको अर्थतन्त्रसगै नेपाल नै नरहने अवस्थामा पुगेको छ। विदेशी ऋण २७ खर्ब पुगेको छ। अब चाँहि जनताको पनि आँखा खुल्ने हो कि ? यस्तो असक्षम प्रधानमन्त्रीलाई हटाउन सडकमा उत्रिने हो कि ?