उपनिर्वाचनमा एमाले र रास्वपाकै भिडन्त,सत्ता गठबन्धनमा भूकम्प जाने खतरा ?

काठमाडौं। उपनिर्वाचन नजिकिँदै गर्दा केन्द्र सरकारमा नयाँ सत्तासमीकरण कायम भएको छ। यही फागुन २१ मा मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई लत्याएर अन्य दलहरुको साथ रोजे। त्यसपछि नयाँ गठबन्धनको जन्म भयो।

नयाँ बनेको सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस छन्। सत्तको कुनै जोखिम नरहेको अवस्थामा पनि प्रधानमन्त्रीले समीकरण बदलेपछि तत्कालीन सत्ता साझेदार दल काँग्रेस अचम्मित बनिरहेको छ।

योसँगै नवगठित गठबन्धनको आयुमा समेत कतिपयले प्रश्न गरिरहेका छन्। कतिपयले आगामी उपनिर्वाचनलाई समेत नयाँ गठबन्धनको संकटको कारण बन्नसक्ने दावी गर्न थालिसकेका छन्।

निर्वाचन आयोगले आगामी बैशाख १५ गते इलाम – २ मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ। यो तत्कालीन एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित क्षेत्र हो। तर यस क्षेत्रमा सत्ता गठबन्धन भित्रकै दलहरुको हानथापका कारण विवाद सिर्जना हुनसक्ने आंकलनहरु भइरहेका हुन्।

इलाम – २ हालको सरकारमा रहेका दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा एसको आ–आफ्नै दाउको केन्द्र बनिरहेको छ।

प्रतिनिधिसभा सदस्यको लागि अहिले हुन लागेको उपनिर्वाचन इलाम – २ मात्रै हो। अन्य क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छैन।

यसका अलावा प्रदेशका लागि मात्रै उपनिर्वाचन हुनेछन्। तर प्रदेशमा निर्वाचनमा सत्ता साझेदार दल रास्वपाले अहिलेसम्म भाग लिएको छैन। र, आउँदो उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ रास्वपाले एक्लै प्रतिस्पर्धा गर्ने उद्घोष गरिसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपनिर्वाचनको तयारीस्वरुप ६ सांसदलाई यही फागुन १९ गते इलाम पठाएको थियो । पार्टीको निर्णय अनुसार रास्वपाले निर्वाचन क्षेत्रभित्र पर्ने प्रत्येक पालिकामा एक–एक सांसदहरु पठाएको थियो।

त्यस्तै रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डरको रुपमा अघि सारेको छ। रास्वपाले अहिलेसम्म उम्मेदवार चयन गर्न

नसकेपनि सहमहामन्त्री बुर्लाकोटीको नाम अघि सार्ने चर्च छ। तर,पार्टी भित्र केन्द्रीय सदस्य रमेश प्रसाईँलाई उठाउन दबाब रहेको बताइन्छ। जे होस् रास्वपाले इलाम – २ को उपनिर्वाचनमा अरुलाई नसघाई आफ्नै दलाबाट उम्मेदवार उठाउने निश्चितजस्तै छ।

उता सत्ता गठबन्धनकै सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि निर्वाचनको सरगमी बढाएको छ। यद्यपि एमालेले पनि उम्मेदवार भने टुङ्ग्याइ सकेको छैन।

आफ्नै विरासद रहेको यो क्षेत्रमा एमालेले अन्य दलको उम्मेदवारलाई सहयोग गरेर अघि बढ्ने कल्पनासमेत गर्दैन। किनकी यो क्षेत्रमा २०५६ देखि लगातार एमालेबाट सुवास नेम्वाङ विजयी हुँदै आएका थिए। त्यसैले यो उपनिर्वाचनमा पनि एमालेले नेम्वाङ पुत्र सुहाङ नेम्वाङलाई नै उठाउन सक्ने चर्चाहरु भइरहेका छन्।

त्यसैकारण यो क्षेत्रमा प्रमुख त एमाले र रास्वपाकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। त्यस्तैगरी सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी पनि इलाम जिल्लामा आफ्नो जनप्रतिनिधि निर्वाचित गराउने कोसिसमा रहने छ। इलाममा पछिल्लो समय स्थानीय तह, प्रदेश र केन्द्रमै माओवादीबाट जनप्रतिनिनिधि कमै निर्वाचित हुँदै आएका छन्।