श्रीमान् र श्रीमतीको मतभेदले नागरिक उन्मुक्तिबाट मन्त्री बनेकाको पद धरापमा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी र उनका श्रीमान् समेत रहेका नेता रेशम चौधरीबीचको मतभेद सतहमा आएको छ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमले फरक–फरक निर्देशन दिएका हुन्।

गत पुसमा भएको महाधिवेशनबाट रेशम नागरिक उन्मुक्तिको अध्यक्ष चयन भएका थिए। तर, निर्वाचन अयोगले वैधानिकता नदिएपछि रेशमको अध्यक्ष पद खोसिएको छ।

यद्यपी उनकै निर्देशनमा नागरिक उन्मुक्तिबाट शुक्रबार तीन मन्त्रीले शपथ लिएका थिए । नागरिक उन्मुक्तिको दलका नेता चौधरी आर्थिक मामिलामन्त्री,खुसीराम डगौराथारू विनाविभागी र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका थिए।

सरकारमा यसअघि नै नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन्। सोही मन्त्रालयको राज्यमन्त्री रहेका कैलाश चौधरी फिर्ता बोलाएर उनको ठाउँमा गिरीलाई पठाइएको छ। तर, अध्यक्ष रञ्जिताले शनिबार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई फोन गरेर पार्टीबाट मन्त्रीहरू फिर्ता बोलाउन र सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएका छन् ।

मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको उल्लेख गर्दै रञ्जिताले पार्टीको निर्देशन अवज्ञा गरे कारबाही गर्ने चेतावनीसमेत दिए।

यता रेशमले भने तीन मन्त्रीलाई शनिबारै बर्दिया बोलाएर ‘राम्रोसँग काम गर्नू’ भनेका छन् । शनिबार नै बुटवल पुगेका रेशमले पत्रकार सम्मेलन गर्दै ‘सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्री फिर्ता नहुने’ प्रतिक्रिया दिए।

रञ्जिता र रेशमका मतभेदका कारण नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दल पनि अनिर्णीत छ। शनिबार रातिसम्म सरकारबाट फिर्ता हुनेबारे कुनै निर्णय गरेको छैन। रञ्जिता र रेशमबीचको विवाद गत पुस २६–२८ मा टीकापुरमा भएको पार्टीको महाधिवेशनमै देखिएको थियो।

रेशमले आफू अध्यक्ष बन्ने तयारी गरेपछि रञ्जिता महाधिवेशनस्थल छोडेर काठमाडौं हिडेका थिए। पछि रेशमले उनलाई सहअध्यक्ष नियुक्त गरेका थिए। एक नेताका अनुसार महाधिवेशनमा रञ्जिताले अध्यक्ष हुन चाहेका थिए।