पूर्वउपराष्ट्रपतिका छोराको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

फाइल तस्वीर

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्।

लामिछानेको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो।

गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानबिन गर्न निर्देशन दिनुभएको छ, उनले भनिन्, ‘बाहिर आएका विषयहरु के–के हुन्, त्यसबारे बुझेर अनुसन्धान अघि बढाउन भन्नुभएको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पनि यो विषयमा आफूहरुको जानकारीमा पहिल्यै आइसकेको बताउँदै प्रारम्भिक जाँच सुरु गरिसकिएको अनलनाइनखबरलाई बतायो।

यो विषय बाहिर आउनेबित्तिकै के हो भन्ने विषयमा अध्ययन थालिसकेका थियौं,स्रोतले भन्यो,गृह मन्त्रालयबाट पनि यसलाई गम्भीरतापूर्वक लिन निर्देशन आएको छ।

पूर्वउपराष्ट्रपति छोरा जितेन्द्रले बुबाको पदीय हैसियताको आडमा सुन तस्करी गरेको आरोप छ। उनले चीनको एक कम्पीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक समेत बाहिरिएको थियो।

उनले त्यसबेला एक वर्षभित्र अढाइ करोड रुपैयाँ दिने भनेर तमसुक गरेपनि पैसा फिर्ता गरेका थिएनन्। ‘व्यवसायीले पैसा नपाएपछि यो विषयबाहिर आएको जस्तो देखिन्छ, के भएको हो, सबै पक्षसँग सोधपुछ गरेर अनुसन्धान थालेका छौं’, प्रहरी स्रोतले भन्यो।

पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए। प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा उनलाई बयान कागज गराएर छाडेको थियो।

सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले पनि उनको बयान लिएको थियो।